समाजविचार कर्मचारीको इमानले बनेको कर्म-मन्दिर

  • प्रकाशित : 5 महिना अगाडि
  • ajakonews

भोजपुर जिल्लाको पश्चिमी भेगमा पर्ने दिल्पा अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने जो कोहीले पनि सजिलै देख्न सक्ने एउटा मन्दिर छ, जसलाई त्यस क्षेत्रका बासिन्दाहरूले ‘कर्म मन्दिर’ भन्ने गर्छन् । यो ‘कर्म मन्दिर’ भनेको कुनै मन्दिर नभएर त्यहाँको इलाका हुलाक कार्यालयको भवन हो, जसको निर्माणको कथा नै स्थानीयस्तरमा कार्यरत हुलाकका कर्मचारीहरूको निष्ठा, तपस्या र त्यागको प्रतीकको रूपमा रहँदै आएको छ ।

यो कुरो स्वयंमा गौरवपूर्ण भएर पनि कहिल्यै राष्ट्रिय चासो र चर्चाको रूपमा आउन सकेन, न त यी वास्तविक राष्ट्रसेवकहरूले कहिल्यै कुनै विभूषणबाट अलङ्कृत हुने मौका नै पाए । राष्ट्रसेवक हुनु भनेको राष्ट्रलाई खोक्रो बनाउने कार्यमा मतियार हुनु हो भन्ने अर्थ लाग्ने आजको समयमा राष्ट्रलाई तलबसमेत दान दिने यिनीहरू ओझेलमा परे ।

रेशमी पर्दाले छोपिएको ‘क्याविन रेस्टुरेन्ट’रूपी राजस्व समूहको एउटा सुब्बा वा खरिदारको घरमा छापा मार्दा ५० लाख रुपैयाा नगद भेटिएको कुरो सुन्न अभ्यस्त भइसकेका हामीलाई हुलाकमा कार्यरत एउटा स्थानीय खरिदारले आफ्नै सक्रियतामा सुन्दर २ तल्ले घर बनाएर सरकारलाई दान दियो रे ! भन्ने सुन्दा पनि हामीलाई आश्चर्य लागेन । हामी गुनी हुन त सकेनौँ पक्कै पनि तैपनि यो कथालाई यत्तिकैमा टुंग्याउन नमिल्ला कि भन्ने लागेर आज फेरि त्यहीँको निरीक्षण पुस्तिकाका अक्षरहरूलाई उधिन्दै छु ।

‘इलाका हुलाकका कर्मचारीहरूले आफ्नो डेढ महिनाको तलबसमेत समर्पण गरी भवन निर्माण कार्य पूरा गरेका छन् भन्ने सुन्दा झन्डै अपत्यारिलो लागे पनि वास्तविकतासँग प्रत्यक्ष रूपमा परिचित हुने अवसर पाउँदा अत्यन्त हर्ष र गर्वको अनुभूति भयो ।’

यी शब्दहरू हुन् पूर्वाञ्चलका तत्कालीन क्षेत्रीय निर्देशक लोकप्रसाद आचार्यका, जसले ७ चैत २०४९ मा यस हुलाकको निरीक्षण गर्नुभएको थियो ।

‘यस कार्यालयलाई देखेपछि संस्थाको उत्थान र हितका लागि कसरी कर्तव्य निर्वाह गर्नुपर्दो रहेछ भन्ने पे्ररणा र ज्ञान पाएँ ।’

१८  असार २०५१ मा यस कार्यालयमा आइपुगेका लोकसेवा आयोग पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका अधिकृत श्यामप्रसाद दाहालको अनुभूति हो यो ।

‘कार्यालय प्रमुखका रूपमा रहेका खरिदार केदार अधिकारीको वर्षौंको अथक परिश्रम, सक्रियता र विनम्रताका कारणले खडा भएको यो जीवन्त स्मारकलाई देख्ने जोसुकैलाई पनि एक पटक आफ्नो कर्तव्यका बारेमा सोच्न मन लागेको देखिन्छ यहाँ रहेको अभिलेखबाट । यसमा कर्मचारीको योगदान अविष्मरण्ीय र अनुकरणीय छ । यस्ता कर्मचारीबाट अरूमा पनि प्रेरणा जागोस् ।’

६ जेठ २०५४ मा गते स्थानीय विकास अधिकारी श्यामप्रसाद शर्मा खतिवडाले व्यक्त गर्नुभएको भावना हो यो ।

‘कर्मचारीको अथक प्रयास, परिश्रम र योगदानबाट यत्रो भवन निर्माण भएको देख्दा आश्चर्य पनि लाग्यो ।’

जिल्ला खानेपानी कार्यालयका डी.ई. रामचन्द्र श्रेष्ठले ३० वैशाख २०५७ मा यस्तो भावना व्यक्त गर्नुभयो ।

‘यस इलाका हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूकै प्रयासबाट निर्माण भएको यो भवनलाई यस जिल्लामा नमुनाकै रूपमा लिन सकिन्छ ।’

जिल्ला जनस्वास्थ्य अधिकृत सनदकुमार राईले ८ चैत २०४९ मा आफ्नो भावनालाई यसरी पोख्नुभयो ।

शक्ति र प्रभावका कारणले नै किन नहोस्, नेपालका धेरै प्रहरी चौकीहरू यसरी नै जनसहभागितामा बनेका पाइन्छन् । तर, हुलाकको एउटा निरीह कर्मचारी, त्यसमा पनि एउटा खरिदार जस्तो सहायकस्तरको कर्मचारीको प्रयासबाट यति ठूलो काम हुनुलाई जो कोहीले पनि आश्चर्यकै रूपमा हेरेका पाइन्छ  । त्यसैले २६ असार २०५० मा तत्कालीन स्थानीय विकास अधिकारी डमरुबल्लभ ढकालले भन्नुभएको रहेछ, ‘यो एउटा नमुनाको रूपमा रहिरहनेछ ।’

प्रसिद्ध कथाकार तथा तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबा न्यौपानेले भन्नुभएको रहेछ, ‘सराहनीय कार्य गरी जनताप्रतिको विश्वासलाई बढाइएको छ ।’

अर्का प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले १८ माघ २०५२ मा लेख्नुभएको रहेछ, ‘यस किसिमका उदाहरणीय सामाजिक कामहरू सबै क्षेत्रमा हुनसके हरक्षेत्रको प्रगति एवं विश्वासमा ठूलो टेवा पुग्न जाने कुरामा विश्वस्त हुन सकिन्छ ।’

‘कर्मचारीको आफ्नै प्रयास र लगानीबाट यस्तो सुन्दर भवन निर्माण गरी सरकार र जनतालाई गरेको यो सहयोग सराहनीय छ’, तत्कालीन प्र.जि.अ. केशरबहादुर बानियाँले ६ जेठ २०५४ मा लेख्नुभएको उद्गार हो यो ।

जिल्लास्थित कार्यालयमा कार्यरत कर्मचारीहरूले मात्र होइन, जनप्रतिनिधिहरूबाट समेत भरपूर प्रशंसा गरिएको छ यो महान् कार्यलाई । केही उदाहरणहरू मात्र हेरौँ ः

‘यसको सुरुदेखिको इतिहासलाई हेर्दा यस कार्यालयका कर्मचारीहरूको लगनशीलता, कर्तव्यपारायणता र सामाजिक भावनाको हामी सबैले सराहना गर्नुपर्ने हुन्छ ।’

जिल्ला विकास समितिका सभापति शशिभूषण किरातको २८ वैशाख २०५३ को अभिव्यक्ति हो यो ।

‘यस हुलाकमा कर्मचारी बन्धुहरूको पहल, सक्रियता र परिश्रम अनि यस गाउँका समाजसेवीहरूको सहयोगबाट निर्मित यस इलाका हुलाक भवनको निर्माणले समाजमा एउटा नयाँ उदाहरण प्रस्तुत गरेको छ । जनता नै राष्ट्र निर्माणको प्रमुख शक्ति हो र जनताको सामूहिक प्रयास, सक्रियता र अठोटबाट मात्र राष्ट्र निर्माणमा गतिशीलता आउन सक्नेछ । यस सन्दर्भमा यस हुलाकका कर्मचारीहरूबाट प्रदर्शित यस उदाहरणले यो क्षेत्र, जिल्ला र राष्ट्रमा एउटा पे्ररणा प्रदान गर्नेछ ।’

१२ चैत २०४८ का दिन भोजपुर- २ का तत्कालीन प्रतिनिधिसभा सदस्य हेमराज राईले व्यक्त गर्नुभएका विचार हुन् यी । उहाँले भनेजस्तै यसले प्रेरणा त दियो तर यसलाई उहाँहरूले व्याप्ति दिन सक्नुभएन । सही मान्छेलाई कदर गर्ने परिपाटी बसाउने क्रममा जनप्रतिनिधिहरूसमेत चुके । र, केदार अधिकारी र उनी जस्ता निस्वार्थ राष्ट्रसेवकहरूको एक तह बढुवाको त कुरै छाडौँ, कतै नामसमेत आउनसकेन ।

‘साँच्चै नै यो हुलाकको प्रगतिको कथा पे्ररणाप्रद छ’, पूर्वाञ्चलका पहाडी जिल्लाहरूको पैदल भ्रमणका क्रममा निस्केका बेला तत्कालीन सभामुख रामचन्द्र पौडेलले २२ कात्तिक २०५५ मा यो अभिव्यक्ति त दिनुभयो तर यसबाट आफैँले समेत प्रेरणा लिन सक्नुभएन । उहाँको स्वागतार्थ भेला भएका सयौँ स्थानीय जनतालाई उहाँले बचत बैंक सेवा सुरु गरिदिने वचन दिएर आउनुभयो तर काम केही पनि भएन । उहाँले सम्झना मात्र गरेको भए पनि यसमा बचत बैंक सेवाको सुरुवात हुन सक्थ्यो ।

काम गर्न तिनै कर्मयोगी कर्मचारीहरू छँदै थिए, मात्र एउटा आदेश दिए पुग्थ्यो हुलाक सेवा विभागले । तर, उहाँले त्यति गराउन पनि सम्झनुभएको देखिएन ।

‘यस कार्यालयका प्रमुखले आफ्नो व्यक्तिगत सम्पतिभन्दा बढी माया र संरक्षण गरेर हुलाकको इतिहास देखिने पुराना कागजातसमेत सङ्ग्रह गरी राख्नुभएको रहेछ । यसबाट हुलाककर्मीहरूलाई आफ्नो इतिहास हेर्ने अवसरसमेत प्राप्त हुनेछ ।’

१० माघ २०५४ मा प्र.जि.अ. माधवप्रसाद रेग्मीले दिनुभएको अभिव्यक्ति हो यो । साँच्चै नै केदार अधिकारीजीले पुराना कागजातहरूसमेत सङ्कलन गर्नुभएको छ । हुलाक पत्रिकाका पुराना अंकहरू मात्र होइन, पुराना इश्तिहारहरू समेत उहाँको सङ्ग्रहमा देख्न पाइन्छ ।

जिल्ला सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेकाले जिल्ला हुलाक अधिकृतको समेत यसमा सधैँ दृष्टि परिरहन सम्भव देखिँदैन । तत्कालीन हुलाक अधिकृतहरूमध्ये घनश्याम उपाध्यायले कर्मचारीलाई प्रोत्साहन गर्न निर्माण कार्यमा १ हजार रुपैयाँ चन्दा प्रदान गर्नुभएको देखिन्छ भने अर्का अधिकृत खड्गबहादुर कार्कीले ५ पुस २०४९ मा यस हुलाकको भ्रमण गरी आफ्ना भावनालाई यसरी पोख्नुभएको पाइन्छ, ‘…साह्रै प्रशंसनीय काम लाग्यो । यहाँको कार्य सञ्चालनको तरिका, टिमवर्क, तथ्याङ्क र चार्टको व्यवस्था पनि अतिउत्तम लाग्यो । पूर्वाञ्चलको विकट पहाडी क्षेत्रमा भएको आधारभूत सञ्चार (हुलाक)को साधनको विकासमा भएको यो अतुलनीय प्रगतिको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’

२२ वैशाख २०५० मा अर्का हुलाक अधिकृत गोविन्दबल्लभ चापागाईंले लेख्नुभएको रहेछ, ‘यस इलाका हुलाकका कार्यालय प्रमुख श्री केदार अधिकारी र अन्य कर्मचारीहरूको उत्साह, उमङ्ग र कार्यरत संस्थाप्रतिको निःस्वार्थ भावनाको म कदर गर्दछु  । श्री अधिकारीहरूको वफादारिता र इमान्दारी अन्य कर्मचारीहरूका लागि पनि मार्गदर्शक र प्रेरणादायी बन्न सकोस्… ।’

यसरी धेरै विशिष्ट व्यक्तिहरूले केदार अधिकारी र उनका सहयोगीहरूको प्रयासलाई मुक्तकण्ठले प्रशंसा गरे तापनि उहाँहरूलाई प्रोत्साहन दिन कसैले केही गरेको पाइएन । योग्यता पुगेर पनि न त उनको समयमा बढुवा भयो, न कुनै प्र.जि.अ.ले ती कर्मचारीलाई विभूषणको सिफारिस नै गरे । नेताहरूले त हेरे अनि बिर्सिए, कुरै सिद्धियो ।

पुरस्कारको २ लाख रुपैयाँ रकमका लागि आफूले आफैँलाई मुलुकको सर्वोत्कृष्ट निजामती कर्मचारी घोषणा गर्नेजस्तो व्यक्तिसमेत मुख्यसचिव भएको यस देशमा केदार अधिकारीहरू ओझेलमा पर्नु कुनै अनौठो कुरो थिएन । एक त खरिदारस्तरको कर्मचारी, त्यसमाथि पनि हुलाकको अनि कसलाई खाँचो पर्छ र केदार अधिकारी जस्ता मान्छेहरूको ?

इतिहासको अर्को पाटो

काठमाडौंबाट डाँक लाइनको निरीक्षण गर्न खटाइएका एक जना सुपरिटेन्डेन्ट ओखलढुंगाबाट धनकुटा जाने क्रममा यस क्षेत्रको बाटो हुँदै अघि बढ्दै थिए । ५ वैशाख २०१७ मा उनी दिल्पा आइपुगेका बेला समाजसेवी भीमप्रसाद राईले उनको स्वागत गर्दै बाटो छेकेर अनुरोध गरेछन्, ‘भोजपुरको पश्चिमी क्षेत्रमा एउटा हुलाक राखिपाऊँ … ।’

यिनै सुपरिटेन्डेन्ट काठमाडौं फर्केपछि अन्नपूर्ण क्षेत्रमा राखिने गरी सोही वर्ष अर्थात् २०१७ सालभित्रैमा एउटा सहकारी हुलाकको स्वीकृति प्राप्त भएछ । त्यसपछि त स्थानीय बासिन्दाहरूमा उत्साहको लहर पैदा हुने नै भयो । उनीहरूले पनि आफू आफूमा नै रकम सङ्कलन गरी एक जना पत्र वितरक राखेर पत्र वितरणलाई व्यवस्थित तुल्याएछन् । कार्यालय सञ्चालनको जिम्मेवारी निभाउने काम भने भीमप्रसाद राई, ज्ञानबहादुर राई र पदमबहादुर राईले पालो मिलाई निःशुल्क रूपमा गर्न थाल्नुभएछ ।

२०१७ सालमा सहकारी हुलाकको रूपमा जन्मिएको यस संस्थालाई हुर्काउन दिल्पाबासीले धेरै दुःख गर्न थालेको ७ वर्षपछि अर्थात् २४ जेठ २०२४ मा यसलाई तत्कालीन नीतिअनुरूप अतिरिक्त हुलाकका रूपमा पुनः उद्घाटन गरिएछ । उद्घाटनकर्ता हुनुहुन्थ्यो- उनै २०१७ सालमा बाटो छेकेर हुलाक माग गर्ने भीमप्रसाद राई ।

तर, त्यसबेला उद्घाटनकर्ताको हैसियत समाजसेवीका अतिरिक्त जिल्ला पञ्चायतको उपसभापतिसमेत भइसकेको रहेछ ।

अब भने यो हुलाक सरकारी जस्तै भएछ । गाउँलेले रकम उठाएर तलब खुवाउनुपर्ने भएनछ । सरकारले नै हुलाक प्रतिनिधि र पत्र वितरक दुवै जनाको तलब दिन थालेछ ।

हुलाकको स्थापनाले सेवा त पुग्यो तर अझै पनि यो पूर्ण सरकारी संस्था नभएकामा भीमप्रसाद राईजीलाई चित्त बुझेको थिएन । त्यसैले अर्को ७ वर्षपछि अर्थात् २०३१ सालमा सञ्चारमन्त्री चतुर्भुजप्रसाद सिंह समक्ष भूतपूर्व सैनिक सङ्गठनको अञ्चल सभापतिका हैसियतले उनै भीमप्रसाद राईजीले छोटी हुलाकमा स्तरोन्नतिको माग प्रस्तुत गर्नुभएछ । मन्त्री सिंहको सिफारिसमा तत्कालीन मन्त्रिपरिषदले छोटी हुलाक स्थापना गर्ने प्रस्तावलाई स्वीकृत गरेछ र २९ कात्तिक २०३१ का दिन राईले नै यसलाई पूर्ण सरकारी छोटी हुलाकको रूपमा उद्घाटन गर्नुभएको रहेछ ।

यसको कार्यक्षेत्रको रूपमा भोजपुर जिल्लाका पश्चिम भेगका तत्कालीन ५ गाउँ पञ्चायतहरू (छिनामखु, नागी, खावा, गुप्तेश्वर र सिद्धेश्वर) र खोटाङ जिल्लाको चिहानडाँडा गाउँ पञ्चायत गरी जम्मा ६ गाउँ पञ्चायतहरूलाई समेटिएको रहेछ ।

घरको कथा

अब दिल्पामा स्वीकृत हुलाक अड्डा थियो तर घर थिएन । २०३१ सालमा तत्कालीन गाउँ पञ्चायतले एउटा हुलाक घर निर्माण गरी छोटी हुलाकलाई हस्तान्तरण गरेको थियो । तर, २०४५ सालको भूकम्पमा परेर घर पूर्ण रूपले भग्नावशेषमा परिणत भएपछि हुलाक कार्यालय फेरि ‘सडक छाप’ हुन पुगेछ । श्रद्धा भएर पनि आधार छिनायो, त्यो भूकम्पले । विश्वास भएर पनि टेकिने ठाउँ गुमाइदियो, त्यो भूकम्पले ।

तत्कालका लागि हुलाकको कार्य सञ्चालन स्थानीय अन्नपूर्ण मा.वि.को एउटा कोठाबाट हुने व्यवस्था मिलाइदिनुभएछ तत्कालीन प्रधानपञ्च नन्दमणि राईजीले । तर, लामो समयसम्म यो सम्भव पनि थिएन र अर्को विकल्प पनि थिएन । पछि राईकै घरको एउटा कोठामा हुलाकलाई निःशुल्क ठाउँ दिएर थन्क्याइएछ र झण्डै २ वर्षसम्म यो हुलाक यसरी नै चलिरहेछ ।

भनिन्छ, ‘अपमानको हात्तीभन्दा दानको पाती श्रेयष्कर हुन्छ ।’ बिरालाले न्याउरा सारेजस्तो यही तिक्तताबाट कार्यरत कर्मचारीहरूले पे्ररणा ग्रहण गरे । उनीहरूको बैठक बस्यो । छलफल भयो र सबै मिलेर एउटा मन्दिर बनाउने अभियान थालियो । यस अभियानको नेतृत्व गरे केदार अधिकारीले ।

एउटा अनौठो आचारसंहिता लागू गरियो कर्मचारीमा- प्रत्येक कर्मचारीले आफ्नो घरबाट आफ्नो गच्छेले भ्याउने चिजवस्तु ल्याएर आफ्नो कार्यालयलाई दिने । यसका अतिरिक्त प्रत्येक कर्मचारीले आफ्नो डेढ महिनाको तलब आफ्नै कार्यालयलाई समर्पण गर्ने निधोसमेत गरे ।

आफ्नो कार्यालयका फर्निचर, पर्दा, अन्य सरसामान र कतै केही हात नलागे पेन्सिल वा डटपेन मात्र भए पनि उठाएर घरमा पु¥याउने मनोवृत्ति भएका नेपाली कर्मचारीहरूका बीचमा यो एउटा नौलो प्रयोग थियो । यसैको सफलताले केदार अधिकारीलाई यो सम्मानित ठाउँमा पु¥यायो पनि ।

कर्मचारीको यो निष्ठाले सिंगै गाउँलाई नै प्रभावित पारेछ । त्यस क्षेत्रमा कर्मचारी भन्नेवित्तिकै घुस खाने प्राणी नठहरिएर दान गर्ने प्राणी ठहरिन थालेछन् । गाउँलेहरूको मन जित्यो यो समर्पणयुक्त निष्ठा र अविचलित स्वार्र्थत्यागको कथाले अनि दान र सहयोगको वर्षा सुरु भएछ ।

तत्कालीन प्रधानपञ्च नन्दमणि राईजीले बजारमै पर्ने आफ्नो १ रोपनी जग्गा निःशुल्क दान दिनुभएछ हुलाकलाई अनि विश्व हुलाक दिवस ९ अक्टोवर १९९१ (२३ असोज २०४८) का दिन यही जग्गामा ५ कोठे १ तल्ले हुलाक भवनको निर्माण कार्यको शिलान्यास गरिएछ दाताकै हातबाट ।

९ अक्टोवर १९९८ मा २२ फिट लम्बाइ र १२ फिट चौडाइको एक तल्ले पक्की अतिथि गृह र शौचालयसमेत कर्मचारी वर्गकै सक्रियतामा पुनः निर्माण गरिएछ ।

९ अक्टोबर २००० का दिनदेखि एक तल्ले भवनमा पुनः एक तल्ला थप गरी यसलाई २ तले बनाइएछ र ९ अक्टोबर २००१ का दिन यो २६ फिट लम्बाइ र २२ फिट चौडाइको २ तल्ले भवन तत्कालीन श्री ५ को सरकारलाई हस्तान्तरण गरिएको रहेछ । यसरी हुलाकी र हल्कारा जस्ता निम्नस्तरका श्रेणीविहीन कर्मचारीहरूले समेत आफ्नो डेढ महिनाको गाँस काटेर बनाएको त्यो सुन्दर भवन नेपाल सरकारले सित्तैमा प्राप्त गरेको रहेछ ।

तर, के नेपाल सरकारको अभिलेखमा यी केदार अधिकारी जस्ता कर्मयोगी कर्मचारीको नाम होला त कतै ?

प्रतिक्रिया