दुई वर्षमै किन खोसियो आदिकवि भानुभक्तको जागिर ?

  • प्रकाशित : 4 महिना अगाडि
  • ajakonews

भानुभक्तले युवावस्थाको उत्तरार्धमा जागिर खाए, तर जागिरमा उनी धेरै टिक्न सकेनन् । मोतीरामले यिनको जागिरका प्रसङ्गमा लेखे, ‘कवि भानुभक्त आचार्यजी स्वस्तिश्रीमद्राजकुमारात्मज श्री ३ कम्याण्डर–इन–चीफ् जनरल कृष्णबहादुर राणाको चाकरी गर्दथे र विक्रमीय संवत् १९०७ सालका वैशाख मासमा मदेसको जागीर पाई गये तर भानुभक्त कवि ऐ १९०९ मा खोस्सिये र कागत्पत्र बुझाउन भनी नेपाल् कुमारी चोकमा आई कागतपत्र आफूले २ वर्ष काम् गरेको खर्चा आम्दानी समेत्को स्याह बुझाउँदा केही बाँकी सर्कारिया लागेछ र ५ मैन्हासम्म कुमारीचोकमा थुनिएछन् ।’

भानुभक्त आचार्य (विसं. १८७१/३/२९ – १९२५/६/६)को जागिरका बारे बाबुराम आचार्यले ‘पुराना कवि र कविता’मा अरू विस्तारसहित लेखेका छन् । भानुभक्त १९०२ सालभन्दा अगावैदेखि मेजर पदमा जागिर खाएको बेहोरा पनि नेपाली साहित्यको इतिहासमा उल्लेख भएको छ । तर, मोतीरामपछि उनका छोरा रमानाथ र नातिनी विष्णुमायाले भानुभक्तले जागिर खाए या खाएनन् भन्ने प्रसङ्ग निकालेको देखिँदैन । बाबुराम आचार्यले चाहिँ भानुभक्त पाल्पाकै पल्टनमा गोस्वारा दफ्तरमा पाल्पा मधेस खस्यौली जागिरमा रही खरदार पदसम्म पुगेको विचार व्यक्त गरेको पाइन्छ ।

मोतीराम भट्टका अनुसार भानुभक्तले १९०७ सालमा सरकारी जागिर पाए । तर, सुरुमा नै खरदारी मिल्नु महाकठिन थियो । यस कारण पहिले यी मेजरमा अनि पछिबाट खरदारीमा भर्ना भएका थिए भनिन्छ ।
भानुभक्तको जागिर दुई वर्षमै खोसिनाको कारण के होला ? शत्रु लागेर जागिर खोसिएको हो कि ! भानुभक्तको जीवनी पढ्दा उनको देखिने शत्रु भनेको गिरिधारी भाट नै हुन् । यहाँ शत्रुताको मनोविज्ञानबाट हेर्दा गिरिधारी भाटमाथि पनि शङ्का गर्न सकिएला ।

यो कोणबाट हेर्दा भानुभक्तले खरदारी जागिर पाएपछि गिरिधारी रानाभाटलाई सहिनसक्नु हुनु स्वाभाविकै थियो; किनभने भाट भानुभक्तका कट्टर शत्रु थिए । त्यसै कारणले मनोवैज्ञानिक शत्रुभावले भानुभक्तले सरकारी रकम हिनामिना गरेको अनुमान गिरिधारी रानाभाटले लगाएको हुन सक्छ । अनि मौकामा शत्रु परास्त पार्नुपर्छ भन्ने मनसायमा भानुभक्तलाई भ्रष्टाचारको अभियोग लगाउन गिरिधारी रानाभाट भित्रभित्रै सक्रिय भए कि भनी आशङ्का गर्न सकिन्छ । गिरिधारी भाटका नातागोता र चिनेका मान्छे पनि सरकारी ठूलठूला ओहोदामा भएकाले उनले यो फाइदा उठाएको पनि हुन सक्छ । सम्भवतः भाटको झोसपोल र नामीबेनामी उजुरीसमेत परेकाले जागिरमा प्रवेश पाएको दुई वर्षमा नै अर्थात् १९०९ साल लाग्दानलाग्दै भानुभक्तको जागिर खोसिएको पनि हुन सक्छ ।

जे होस्, भानुभक्तले एउटा श्लोक लेखेको भरमा केही लेखकहरूले भने उनलाई जागिरे मानेनन् । जागिर खोसिएपछि कुमारीचोकको थुनामा रहँदा भानुभक्तले यो श्लोकसमेत लेखेका थिए:

 जागीर् छैन धनी म छैन घरको केबल् कुदालो खनी ।
खान्थ्याँ दुक्ख गरेर चाकरी गर्या मान् पाउला की भनी ।।
एक् मन् चित्त लगाइ चाकरि ग-या खूसी भया छन् हरी ।
मान्माथी पनि भुक्तमान् थपि दिया कैल्ह्यै नखोस्न्या गरी ।।

भानुभक्तद्वारा रचित ‘जागिर् छैन’ भन्ने यस कवितालाई नै उल्टोपाल्टो व्याख्या गरेर भानुभक्तले जागिर खाएका थिएनन् भनिएको पाइन्छ । चाकरीबाट खुसी भई पाएको मान खोसिई कुमारीचोकमा थुनिनु पर्दा मानमाथि कहिल्यै नखोसिने भुक्तमान थपियो भन्ने भानुभक्तको गुनासो ठीकसँग यो कविता पढ्दा बुझिन्छ नै ! बाबुराम आचार्यले यस कविताको प्रसङ्गमा लेखेका नै छन्, ‘हुन त यी (भानुभक्त) गरिब थिएनन् । तैपनि आफ्ना आश्रयदाता जनरल कृष्णबहादुर राणासँग खर्चबर्च र बिदा माग्नु एक तरहको नियमै थियो ।’

भानुभक्तले त ‘जागिर् छैन धनी म छैन घरको केवल कुदालो खनी’ भनेर कमान्डर इन चिफ कृष्णबहादुर राणामा जाहेर गरेका कविता लेखेका हुन् । जागिर खोसिएपछि जागिर छैन भनेर मनको डाहा पोख्न उनले घुक्र्याइ र व्यङ्ग्यका रूपमा यो कविता लेखेको हुनुपर्छ । उनी एउटा सम्पन्न ब्राम्हण परिवारका व्यक्ति थिए । तत्कालीन समयमा धनी, पुरेत या पण्डितले उति कोदालो खन्नै पनि पर्दैनथ्यो । उनले बेलाबखत कोदालो खने पनि होलान् । त्यस बखतको नेपालमा भानुभक्तजस्ता पढेलेखेका धनी पण्डितहरूले जीवन निर्वाहका लागि भने कुटोकोदालो खन्नुपर्दैनथ्यो र कोदालै खनेर आफ्नो जीविका गर्नुपर्दैनथ्यो । फेरि उनी खरदार बाबुका एक मात्र भूमिसम्पन्न छोरा पनि थिए ।
भानुभक्तले उपर्युक्त ‘जागीर् छैन’ भन्ने कविता जागिर खोसिएपछि कुमारीचोकमा थुनिएका बेला लेखेको बेहोरा भानुभक्तका भतिजा रामदत्त आचार्यबाट प्राप्त सूचनाका आधारमा मोतीरामले लेखिसकेकै बेहोरा हो । यसरी जागिर खोसिएको रनाहा र थुनुवाजीवनमा लेखिएको कविता छँदाछँदै भानुभक्तको जागिरै थिएन भन्नु कस्तो तर्क हो ? वास्तवमा यस प्रश्नको उत्तर नै देखिँदैन ।

भानुभक्तले जागिर खाए नखाएको बेहोरा रङ्गनाथ शर्मा र विष्णुमायाहरूले उल्लेख गरेका छैनन् । भानुभक्तकै एक नाति डि. देवीभक्त आचार्यले भानुभक्तले जागिर खाएको कुरा बताएका छन् । भानुभक्तका भान्जा पर्ने सुब्बा वीरेन्द्रकेशरीले मामा भानुभक्त खरदार भएको कुरा भन्थे भनेर बाबुराम आचार्यले ‘पुराना कवि र कविता’मा लेखेकै छन् । यतिका वर्षपछि आएर भानुभक्तले जागिर खाएको नखाएको प्रसङ्ग ल्याएर जोड्नुपर्ने कारणै के थियो र ? यस बेहोरामा भानुभक्तका वंशजलाई हीनताको बोध हुनुपर्ने कुनै कारण नै देखिँदैन भन्ने बौद्धिक राय पनि भेटिने गरेको छ । यति हुँदाहुँदै पनि मोतीराम र बाबुराम आचार्य वा रमानाथ र विष्णुमाया अनि डि. दुर्गादत्त पछिका

आचार्य खलकहरूमध्ये भानुभक्तबारे लेख, किताब लेख्ने प्राय:ले चाहिँ भानुभक्तले जागिर खाएका थिएनन् भनेर दाबी गर्दै आएका छन् ।
यसै प्रसङ्गमा भानुभक्तका पनाति मुक्तिनाथ आचार्य (भानु पुस्तकालयका पूर्व अध्यक्ष)ले समेत ‘कवि भानुभक्त आचार्यले जागिर खाएका थिएनन्’ भनेर लेखेका छन् । राष्ट्रिय विभूति भानुभक्त आचार्यका विषयमा अझै वंशज र बाजेपट्टिबाट छुट्टिएका सातपुस्ते सन्तान नै हावी हुनुलाई न्यायोचित मानिँदैन भन्ने अनेकौँ बुद्धिजीवीहरूको मत रहेको छ । तर, अपवाद रूपमा भानुभक्तका माहिला काका काशीनाथतर्फका शाखासन्तति प्रा.डा. शर्वराज आचार्यले भने भानुभक्तीय खोजमा भानुभक्तले जागिर खाएको मानेको पाइयो । वास्तवमा भानुभक्त आचार्य भन्नु कुनै व्यक्ति, वंश, क्षेत्र या भूगोलका मात्र पेवा होइनन्, यी त सिङ्गो नेपाली भाषाका आदिकवि हुन्, मुकुट हुन् ।
भानुभक्तका बाबु धनञ्जय पाल्पाको तहसिल अड्डामा खरदार थिए । उनले ३० वर्ष जति सरकारी सेवा गरेका थिए भनिन्छ । जागिरे अवस्थामा नै उनी १९०७ सालमा बिरामी परे । उनको इच्छाअनुसार उनलाई काशी लगिएको थियो र त्यहीँ नै उनको निधन भएको थियो । धनञ्जय सिकिस्त बिरामी भएपछि त्यही खरदार पदमा उनका छोरा भानुभक्तलाई नै जागिर दिइएको हुन सक्छ पनि भनिन्छ । भाइचन्द प्रधानका अनुसार पनि ‘१९०७/०९ दुई वर्षसम्म भानुभक्तले सरकारी जागिर खाएका थिए ।’ तर, गिरिधारीको उजुरबाजुरका कारण भानुभक्तको दुई वर्षमा जागिर गएको पनि हुन सक्छ ।

धनञ्जयको मृत्यु भएको वास्तविक वर्ष खोजीद्वारा किटान हुन बाँकी नै छ । त्यसैले त्यो वर्ष किटानी थाहा भएपछि नै यी सबै कुरा अरू स्पष्ट हुँदै जालान् । तर, अपवादरूपमा भानुभक्तका माइला काका काशीनाथतर्फका शाखासन्तति प्राध्यापक डा. शर्वराज आचार्यले ‘मधुपर्क’ (वर्ष २६ अङ्क ६)मा भानुभक्तले जागिर खाएका थिए भनेरै किटेका छन् ।

धनञ्जयको निधन भएपछि भानुभक्तलाई स्याहास्रेस्ता नमिलेको हुँदा समातिएको हो भनेर अनाहक कुराहरू पनि लेखिन थाले । बाबु जागिर हुँदै बिती उनका स्याहास्रेस्ता फरफारक गर्न कुमारीचोकले उनलाई पक्राउ गरेको थियो भन्ने काल्पनिक र अनुमानित लिखित बेहोरा पाठकमाझ पछिपछि आए । (यसरी झुटा बेहोराले ढाकछोप गरिएका भानुभक्तको जीवनीका विविध प्रसङ्गले पाठकलाई रनभुल्ल बनाएका छन् ।)

बाबुबाजेकै पालादेखि चुँदी रम्घामा भानुभक्तको जग्गाजमिन निक्कै नै थियो । त्यति मात्र होइन, उनका बाबु धनञ्जयले काठमाडौँमा पनि घर लालमोहर बक्सिस पाएका थिए । भानुभक्तका बाबु खरदार पदमा नेपाल अङ्ग्रेज युद्धभन्दा अघिदेखि नै सरकारी कर्मचारी भएका थिए । त्यतिखेर जागिर छाड्छु भनेपछि मात्र उनको जागिरसँगको सम्बन्ध विच्छेद भएको हुन सक्छ । त्यसैले बिरामी भएर अशक्त भएपछि मात्र उनले जागिर छाडेका थिए ।

भानुभक्त आफ्नै जागिरका कारणबाट कुमारीचोकमा थुनिए अथवा गिरिधारी रानाभाटको उजुरी, झोसपोल या शक्तिबाट थुनिए भनी आशङ्का गर्ने मनोवैज्ञानिक ठाउँ प्रशस्तै छ । उनी पाँच महिना कुमारीचोकको निगरानीमा बसे । त्यस बखत बेलैमा मुद्दाको छिनोफानो नभएको विषयलाई लिएर उनले कमान्डर इन चिफ कृष्णबहादुर राणालाई एउटा परिहासपूर्ण र व्यङ्ग्यात्मक कविता लेखेर पनि चढाए:

   रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू
रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू
लाम्खुट्टे उपिञा उडूस् इ सँगि छन् इन्कै लहड्मा बसी
लाम्खुट्टेहरू गाउँछन् यी उपिञा नाच्छन् म हेर्छू बसी ।।

भानुभक्त आचार्य विनोदी, परिहासप्रेमी, चतुर, प्रतिभाशाली र विद्वान् थिए । उनी रिसाहा, झोक्की र आक्रामक स्वभावका पनि थिए । त्यसैले कुनै बेला यिनको झगडा गिरिधारी भाटको परिवारसँग भएको हुनुपर्छ । भाट पनि स्थानीय स्तरका नामी र धनी हुनुपर्छ । यही झगडाका कारण, ईष्या र ईख पनि शत्रुभावनाका कारण भाटले आफ्नो पहुँच लगाई र भित्री दाउपेचले भानुभक्तलाई थुनाएको हुन सक्छ । यदि भाटकाण्डका भित्री पेचमा भानुभक्त थुनिएका थिएनन् भने उनले जागिर खाँदा आफूले स्याहास्रेस्ता गल्ती गरे वा नगरेको अथवा आफ्नो बाबुको पालाकोसमेत स्याहास्रेस्ता फरफारक गर्न आफू कुमारीचोकका निगरानीमा भएको कुरा कमान्डर इन चिफ कृष्णबहादुर राणाका हजुरमा जाहेर गरेका कवितामा किन लेखेनन् भन्ने पनि एकथरी तर्क पाइन्छ ।

यदि बाबुको स्याहास्रेस्ता फरफारकका कारणमा भानुभक्त थुनामा परेका थिए भने थुनाबाट छुटेपछि पनि त सो विषयबारे भानुभक्तले यकिन आफ्ना कुरा पद्यमार्फत लेख्न सक्थे भन्ने बौद्धिक राय पनि भेटिन्छ । त्यसैले यो थुनाको विषयलाई पनि भानुभक्तका कविताका आशयलाई अन्यत्र बहकाई कतैकतै कथावस्तु मात्र बनाएको हो कि भन्ने पाठकले अनुमान लगाउने ठाउँ भेटिन्छ । किनभने, भानुभक्त आफ्नो या बाबुको जागिरको बखतको बहिखाता स्याहा फरफारक गर्ने बाहेक खास के कारणले थुनिए भन्ने कसैले यथेष्ट प्रमाण दिन सकेका छैनन् । यसबारे खुद भानुभक्तका कविताबाहेक अरू जति पनि लेखोट आए ती प्रायः हचुवा, कल्पना र सम्भावनामा मात्र आधारित भई प्रस्तुत भएको देखिन्छ ।

भानुभक्त कुमारीचोकका निगरानीमा पर्दा उनी दिनभरि डुल्न पनि पाउँथे । घरतिर चिठीपत्र र रामायणका श्लोकहरू जेजति पनि लेख्न पाउँथे । यति हो, उनी राती सुत्न कुमारीचोक आउँनुपर्थ्यो । बाबुराम आचार्यका अनुसार भानुभक्तको ‘यो थुनाइ मामुली थियो । यहीँ (कुमारीचोकमा) बिरामी हुँदा छुटेर काठमाडौँको आफ्ना डेरैमा गएर बसे ।’

थुनामा पर्दा भानुभक्त धेरै दुःखी हुनु स्वाभाविकै हो । तर, त्यो थुनाहा कवि भानुभक्तका लागि वरदान बन्यो; किनभने त्यहाँ पनि उनले आफ्नो सृजन कर्मलाई जारी राखे । उनी थुनामा परेकै हुँदा उनले आफ्नो सृजनात्मक प्रतिभालाई ‘बालकाण्ड’पछि थप चार काण्ड रामायण रचेर तथा घतिला र पेचिला कविता पनि बनाएर झनै व्यापक रूपमा प्रस्तुत गर्न सकेका थिए ।

भानुभक्त आचार्य थुनामा पर्नुपूर्व नै उनले ‘रामायण’को सुरु गरिसकेका थिए । त्यहाँ निगरानीमा पर्दा या कुमारीचोकमा बसेर उनले रामायणका ‘अयोध्याकाण्ड’, ‘अरण्यकाण्ड’ ‘किष्किन्धाकाण्ड’ र ‘सुन्दरकाण्ड’ तयार गरे । अनि थुनाबाट छुटेपछि यिनले ‘युद्धकाण्ड’ पूरै र ‘उत्तरकाण्ड’ कथा पनि लेखे । उत्तरकाण्डभित्रको रामले लक्ष्मणलाई वेदान्तका सूक्ष्म अध्यात्म तत्वको उपदेश गरेको अंश ‘रामगीता’समेत जीवनका अन्त्यसम्म मीठोसँग नेपालीमा रचना गरी आफ्ना ‘रामायण’का रचनाभवनमा गजूर पनि चढाइदिए ।

फेरि भानुभक्तका कुमारीचोक निगरानीकै बखतको कुरा गरौँ । उनले ‘रामायण’का उपर्युक्त काण्डहरूबाहेक त्यस बखत आफ्ना गुनासा, समस्या र झोँक अनि अनुनय र परिहासजन्य चेतनाका जुन अमर पद्यहरू रचे; ती यस्ता रहेका छन्:

 चालिस् वर्ष भञा म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको ।
आयो काल् व्रतबन्धको नजिकमा बेला त हो हर्षको ।।
क्यारू आज पर्यां म ता विपतमा एक्लो ञाहां छूं फगत् ।
कुन् पाठ्ले व्रतबन्ध पार्गरु मफेर्मान्छू अंध्यारो जगत् ।।२।।

    गायत्री दिनु बाबुको छ अधिकार्भिक्षा दिनू माइको ।
बालख्मा पनि वेद् पढी कन सुसार्गर्नू गुरु गाइको ।।
यस्तो मुख्य बखत् छ यो अरुं छ कुन् काम् पारलाई दिन्या ।
धेरै बिन्ति कती गरुँ चरणमा एकै कुराले छिन्या ।।३।।

    ख्यामित् आज हजुर्हरू पृथिविमा मालिक् छंदामा पनी ।
ब्राह्मण्को व्रतबन्ध अड्कन तयार्देख्या र मालिक् भनी ।।
जाहीरात ग-यां प्रभू हजुरमा जो मर्जि होला भनी ।
कंढैसित् भनि मर्जि हुंछ त भन्या क्यारू सहन्छू पनी ।।४।।

यसै कविताले भानुभक्तलाई कुमारीचोकको थुनाबाट मुक्त गरिदियो । यसैबारे मोतीराम भट्टले लेखेका छन्:

‘जब यो व्रतबन्धको कुरो राखी कवि भानुभक्ताचार्यले विन्तीपत्र चढाए सर्कारले खुसी भै निज कवि भानुभक्तलाई कुमारीचोक्बाट फारग् पत्र दिंदामा तुरन्त सम्वत् १९०९ विक्रमीयका फागुन मैह्नामा घर गै आफ्ना पुत्र रमानाथको व्रतबन्ध गरे । फेरि विक्रमीय सम्वत् १९१० मा नेपाल आये र बाकी रहेको युद्धकाण्ड र उत्तरकाण्डको पनि तर्जुमा भयो र यो रामायण ग्रन्थ पूरा भयो ।’

प्रतिक्रिया