माओवादी द्वन्द्वकालको कहालीलाग्दो कथा : नियति

  • प्रकाशित : 4 महिना अगाडि
  • ajakonews

माघेसङ्क्रान्ति बितेको हप्तादिन भए पनि कवीरकी श्रीमतीले सङ्क्रान्तिकै लागि पकाएको जिर्मा बँचाइराखेकी थिइन् । सम्साँझै गाउँ ढोका थुनेर आगो ताप्ने माघको जाडोमा, कवीरको परिवारले खाना खाइसकेको थियो । पाँच वर्षकी ठूलीछोरी बजुको काखमा र जिर्मा छान्दै गरेको बाउको छेउ गर्दै खेल्दै थिइन् । कवीरकी आमा जाँड झान्न आगो बनाएर प्याजको पात काट्दैथिइन् भने श्रीमती भर्खरै डेढ वर्ष पुग्दै गरेकी सानी छोरिलाई काखमै राखेर तेल लगाइदिँदै थिइन् । परिवारमा त्यो बिहानको एउटा घटनाले अलिकती पिरोलिरहेको थियो ।

कवीर घुर्‍यान बारीमा बाँझो जोत्दै थिए । मेलो सकिनै लाग्दा एउटा गोरु अचानक बस्यो । कवीर हलो अड्याएर हेर्न जाँदा गोरुको मुखबाट रगतसहितको फिँज निस्किँदै थियो भने मुन्टो लत्रिएको थियो । हलो जुवा खोलिसक्दा गोरु मरिसकेको थियो । अचम्मै भयो, बिहान राम्रैगरी नारेको गोरु अचानक त्यसरी मर्दा सबैजना छक्क परे । कवीरले मान्छे बोलाएर अलि परको सुन्तलाको फेदमा लगेर गोरुलाई गाडिदिए । धमाधम बाँझो चिर्ने बेलामा भर्भराउँदो गोरु मरेपछि परिवारमा चिन्ता आइपरेको थियो । मट्टीतेलको टुकीमा अँध्यारो भगाइरहेको त्यो परिवारले सोलार प्रणाली जडान गर्न केही पैसा जोहो गरेको थियो, त्यहीँ पैसाले अरू गोरु किन्ने सल्लाह गर्दैथिए ।

जाँड झान्नै लाग्दा बाहिर मान्छेहरु हिँडेको पाइला सुनियो । ‘को आयो ?’ को भावमा सबैले बाहिरतिर ध्यान फ्याँकेँ । लाइट बालेर केही मान्छेहरु सिकुवामा देखा परे । ‘कवीरे भन्नेको घर यहीँ हो ?’ उच्च आवाजमा च्याँठिएको स्वर सुनियो । ‘हजुर हो त’ भन्दै कवीर बाहिर निस्किए ।

बाहिर पुलिसले छोरालाई घेरा हालेको देखेर आमा अत्तालिइन्, ‘के भो बाबु ?’ ‘यो गोरुमारालाई हत्कडी लगाएर हिँडा’ अघिकै आवाजले आदेश दियो । आफूलाई किन पुलिसले खोज्यो भन्ने कुराको अनुमान लगाए कवीरले । बिहान गोरु गाड्न साथीहरु भेला हुँदै गर्दा अध्यक्षको छोरा पनि गाउँ चहार्न निस्किएको थियो । उसले त्यहाँ निक्कै चाख मानेर गोरु मरेको बारेमा सोधेको कुरा कवीरलाई सुनाएका थिए ।

बाहिर पुलिसले छोरालाई घेरा हालेको देखेर आमा अत्तालिइन्, ‘के भो बाबु ?’ ‘यो गोरुमारालाई हत्कडी लगाएर हिँडा’ अघिकै आवाजले आदेश दियो । आफूलाई किन पुलिसले खोज्यो भन्ने कुराको अनुमान लगाए कवीरले । बिहान गोरु गाड्न साथीहरु भेला हुँदै गर्दा अध्यक्षको छोरा पनि गाउँ चहार्न निस्किएको थियो । उसले त्यहाँ निक्कै चाख मानेर गोरु मरेको बारेमा सोधेको कुरा कवीरलाई सुनाएका थिए ।

गाउँको अध्यक्ष, अर्थात भूपू प्रधानपञ्च । बहुदलपछि नयाँ पार्टीबाट पुनः चुनाव जितेर पुरानै शक्तिमा बसेका थिए । अध्यक्षको छोराले एउटै स्कुल पढ्ने धनुलाई मन पराउँथ्यो । तर धनु उसलाई कत्ति पनि मन पर्दैनथ्यो । सँगै पढ्ने कवीरसँग बिस्तारै धनु नजिकिन थालिन् । त्यो कुरा थाहा पाएपछि धनुलाई बाटो छेकेर धम्क्यायो, कवीरसँग झगडा गर्यो तर धनुले मन पराइनन् । कवीरसँगको झगडापछि भने स्कुलले अध्यक्षलाई बोलाएर छोरालाई अन्तै पठाउन सुझायो । अध्यक्षले छोरालाई सहर पठाए । निक्कै समयसम्म शान्त भयो गाउँ । त्यस बीचमा धनु र कवीरले प्रवेशिका पास गरे । घर बाहिर बसेर पढ्न सक्ने हैसियत नभएकाले पढ्ने चाहना भएर पनि सकेनन् दुवैले । बरु नयाँ जिन्दगी सुरु गर्ने निर्णयपछि बिहे गरे । अध्यक्षको छोरो सहर छोडेर गाउँ फक्र्याे । चुपचाप जिन्दगी चलिरहेको थियो । अध्यक्षको छोराले भने ‘म एकदिन बदला लिन्छु’ भन्दै हिँड्छ भन्ने गाइँगुइँ चलिरहेको थियो ।

आमाले बिन्ती बिसाइन् । श्रीमतीले ‘बिहान चौकी आउनुहुन्छ, बालख नानीहरुको मुख हेरिदिनुस् न ।’ भन्दै तरक्क आँसु चुहाइन् । ठूली छोरी कहालिएर रुन थालिन् । तर कुनै कुरा नसुनी कवीरलाई धकेल्दै अगाडि बढाए । ‘चिन्ता नगर्नू, केही हुँदैन । भोलि बिहान आउँछु ।’ थाहा थियो कवीरलाई, बिहान आउने नआउने टुङ्गो छैन । तर पनि परिवारमा ढाडस दिने प्रयास गरे । अलि माथि पुगेपछि पछाडि हिँड्ने पुलिसले पासुलामा एक डन्डी हिर्कायो । कवीर थुचुक्कै बसे । दुवै आँखा आँशुले टम्मै भरिए तर आवाज निस्किएन । ‘साला गोरुमारा ! भन् ककसलाई बाँडिस् गोरुको मासु ?’ आदेश दिने पुलिस गर्जियो । घुँडा टेकेर बसेको कवीरलाई लात्तीले ढाडमा हिर्कायो । नाक र निधार भुइँमा बजारियो । रगत आयो नाकबाट । पाखुरामा समातेर घिसार्दै लैजाँदा अध्यक्षको छोरा बाटैमा भेटियो । अब भने कवीरलाई निश्चित भयो, गोरु मारिएको नाममा अध्यक्षको छोराले बदला लिने काइदा गरेको हो । ‘भाते ! तैले मलाई गाउँमा नबस्ने बनाइस्, मैले मन पराएको केटी आफ्नो बनाइस् अनि तँलाई सञ्चले झानेको जिर्मा खाँदै बस्न दिन्छु पाजी !’ स्कुलको झगडापछि पहिलोचोटि मुख खोल्यो उसले । कवीरले बोल्नुको कुनै अर्थ थिएन । ‘यसलाई जेलमै सडेर बस्ने व्यवस्था मिलाऊ इन्स्पेक्टर । म बिहान आउँछ ।’ दोबाटोमा पुगेपछि आफ्नो कुरा टुङ्ग्याउँदै ऊ अर्काे बाटो मोडियो ।

बिहान पँधेरामा हल्ला सुनियो, ‘कवीरले गोरु हिर्काएर मारेको रे ।’

‘उसलाई राति नै पुलिसले लग्यो रे । उसलाई अब जन्मकैद हुन्छ रे ।’ धनु पानी लिन पुग्दा यस्तै कानेखुसी सुनिन् । उनले सत्य कुरा भन्दा कसैले पत्याएनन् । अझ थपे, ‘अध्यक्षकै छोराले देखेको रे कवीरले गोरुलाई हिर्काउँदै गरेको ।’ जोत्दै गरेको गोरु एक्कासि भुइँमा बसेर त्यहीँ प्राण त्यागेको बेलामा बारीमै डल्ला फोर्दै गरेकी धनुले बल्ल रहस्य थाहा पाइन्, ‘यो सबै अध्यक्षको छोराले गरेको कर्तुत रहेछ ।’ मनमनै यही सोँचेर घर आइन् । धनुले गाउँका केही ठूलाठालु भनिने मान्छेकहाँ गएर आफ्नो दुःख पोखिन्, पुलिसकोमा गएर बुझिदिन आग्रह गरिन् । तर ‘अध्यक्षको छोरो’को नाम मिसिएको सुन्नासाथ सबै तर्किए । अन्त्यमा छोरी च्यापेर माइती पुगिन् र आफ्नो बाउलाई गुहारिन् । छोरीको हालत देखेर बाउआमा दुवै जना आँखाबाट पोखिए निक्कै बेर । उतैबाट बाउछोरी भएर पुलिस चौकी गए । बाउले सोधखोज गरे, सुरुमा त कवीर नामको मान्छे ल्याएकै छैन भनियो । पछि हाकिमसँग भेटाइदेऊ भनेर जिद्धी गरेपछि इन्स्पेक्टर आएर भन्यो, ‘केस माथि’ पठाइसकेको छ । डीएसपी सा’बले अपराधीलाई जिल्लामै हाजिर गराउनु भन्नुभएको छ ।’ अपराधी यो शब्द सुन्नासाथ धनुको मुटुमा पहिरो गयो । ‘आजसम्म कसैको बारेमा कुभलो गर्ने त होइन, सोच्दा समेत नसोच्ने मान्छे कसरी अपराधी भयो ?’ मनमनै बोलिन् । उभिएको जमिन भासियो । ‘तैपनि एक पटक भेट्न दिनुस् न सर ।’ अन्तिममा धनुले गरेको आग्रहमा जवाफ आयो, ‘अध्यक्षको मञ्जुरी लिएर आऊ ।’ बाउछोरी अनुहारभरी बर्सात बोकेर निरिह कदम उठाउँदै घर फर्किए ।

‘आज राति माओवादीले यहाँको चौकी हानेछन् ।’ भोलिपल्ट बिहानै गाउँभरी हल्ला फैलियो । धनुको मुटु हल्लियो । ‘कवीरलाई के भयो होला ? हे दैव बचाइदेऊ ।’ मनमनै आफूले श्रद्धा र आस्था राख्ने देवीदेवता र कुल पितृ सबैमा बल मागिरहिन् ।

‘आज राति माओवादीले यहाँको चौकी हानेछन् ।’ भोलिपल्ट बिहानै गाउँभरी हल्ला फैलियो । धनुको मुटु हल्लियो । ‘कवीरलाई के भयो होला ? हे दैव बचाइदेऊ ।’ मनमनै आफूले श्रद्धा र आस्था राख्ने देवीदेवता र कुल पितृ सबैमा बल मागिरहिन् ।

दिउँसोपख जिल्लाबाट हतियारबद्ध प्रहरी र सेनाहरुको समूह गाउँको बाटो भएर आक्रमणमा परेको चौकीतिर लाग्यो । घटनामा केकस्तो मानवीय क्षति भयो, कसैलाई थाहा थिएन । बेलुकितिर हल्ला चल्यो, ‘केही घाइते पुलिसहरु बाहेक सबै पुलिस, हातहतियार र थुनुवा कैदीहरु लिएर गए रे ।’ कवीरको परिवारमा तनावको पारो घट्ने छाँटकाँट थिएन । उनको बारेमा कसरी कोबाट बुझ्ने भन्ने पीर गर्दागर्दै त्यो दिन बित्यो ।

अर्काे दिनको बिहान, पुलिस र आर्मीहरुको संयुक्त टोली माओवादी खोजी गर्न भन्दै गाउँ प्रवेश गर्यो । जथाभावी बोल्दै र निहत्था मान्छेहरुलाई त्रसित बनाउँदै र्हिडिरहे । टोली कवीरको घरमा पुग्यो र कठोर आवाज बोल्यो, त्यो आतङ्ककारी कवीर भन्नेको घर यही हो । उसकै मतियारहरुले उसलाई छुटाउन चौकी आक्रमण गरेका हुन् । त्यो साले ठूलै नेता हुनुपर्छ । पूरै घर खानतलासी गर्नु ।’ हिजो अपराधी भनिएको आफ्नो श्रीमानलाई आज भिराईएको ञआतङ्ककारीझ को बिल्ला सुनेर काखे बच्चा च्यापेर सिकुवामा उभिएकी धनु अवाक भइन् । बूढी आमा घुँडा धसेर थचक्कै बसिन् । एउटा खुट्टा उचालेर आगनभरी एक्लै उफ्रिँदै खेलिरहेकी ठूली छोरीको मुहारले डर, त्रास, केही प्रश्न, जिज्ञासा, कौतुहलता, अनुनय सबै एकै पटक मिसाएर भिडतिर आफन्तहरुको खोजी गरिरहेको थियो ।

घरको कुनाकाप्चा, भर्सेली, बुइँकल, धुरी कतै बाँकी नराखेर तलासी सकियो । केही चिज नभेटिएपछि धनुलाई लिएर जाने भए, आतङ्ककारीलाई सहयोग गर्ने पनि आतङ्ककारी नै हो । त्यसमाथि यो आइमाई त उसकी श्रीमती झन आतङ्ककारी हो ।’ एउटा फैसला बोल्यो र बाँकी समूहले धनुलाई लतार्न थाल्यो । होस हवास उडेकी धनुले सपना हो कि विपना छुट्याउनै सकेकी थिईनन् । काखको बच्चा खोसेर बुढी आमाको छेउमा हुत्याईयो, आमासँगै झुन्डिँदै आएकी ठूली छोरीलाई बन्दुक देखाएर तर्साइयो र धनुलाई दुवै हात पछाडि बाँधेर ठेल्दै र लतार्दै घरबाट लिएर गयो भिडले ।

गाउँ त्रसित र आतङ्कित भयो । सबै जना अचम्म थिए । ‘कवीर कसरी आतङ्ककारी हुनसक्छ ?’ पढेलेखेका मान्छेहरु, देश दुनियाँ बुझेका मान्छेहरुको भित्रभित्रै केके कुरा खेल्छ, थाहै नपाइने !’ यस्तै कुरा घरघरमा चलिरहे । कवीर माओवादी हो र होइनमा गाउँ पनि विभाजित भयो । तर धेरैको ठम्याइ थियो, कवीरलाई फँसाईयो ।

दिउँसो रेडियो नेपालबाट समाचार बज्यो– हिजो राति चौकी आक्रमण गरी फरार आतङ्ककारी कवीरलाई सहयोग गर्ने धनु नामकी आतङ्ककारीको सुरक्षा फौजको गस्तिमाथि एम्बुस थापिरहेको बेला जवाफी कारवाहीमा घटनास्थलमै मृत्यू । समाचारले पूरै गाउँ शोकमग्न र सोचमग्न भयो । सबैको आँखै सामुन्नेबाट हात बाँधेर लगिएकी धनुले कसरी कहाँ एम्बुस थापिन्, कहिले कसरी कवीरलाई आतङ्ककारी काम गर्न सहयोग गरिन्, कवीर कसरी आतङ्ककारी बन्यो ? जस्ता प्रश्नहरु सिङ्गै गाउँको आकाशमाथि गुन्जिरह्यो । बेलुकीपख घाँस दाउरा गर्न गएकाहरुले भने, ‘धनुलाई पुलिसहरुको समूहले पर जङ्गलनिरको चउरमा पुर्याएर पालैपालो बलात्कार गरे अनि धेरै बेरसम्म बन्दुकले घोच्दा घोच्दा गरेर मारे ।’ अर्काे ठूलो बज्रपात पर्यो कवीरकी आमालाई । उनी अचेत भइन् । छोरोको अत्तोपत्तो छैन, बुहारीलाई मारिदिए ।

गाउँमा मुर्दाशान्ति छायो । शोक, सुर्ता र त्रासले कवीरकी आमाको भोक, तिर्खा, निन्द्रा सबै खाइदियो । गाउँका मानिसहरु परिवारभित्रकै कुराकानी पनि कानेखुसीमा गर्न थाले । धारा, पँधेरामा भेला हुने पँधेर्नीहरु चुपचाप आफ्नो गाग्रो भरेर हिँड्न थाले । गाउँघर डुलिरहने मान्छेहरु पनि घरको चौघेरा नाघेर जान डराउन थाले ।

गाउँमा मुर्दाशान्ति छायो । शोक, सुर्ता र त्रासले कवीरकी आमाको भोक, तिर्खा, निन्द्रा सबै खाइदियो । गाउँका मानिसहरु परिवारभित्रकै कुराकानी पनि कानेखुसीमा गर्न थाले । धारा, पँधेरामा भेला हुने पँधेर्नीहरु चुपचाप आफ्नो गाग्रो भरेर हिँड्न थाले । गाउँघर डुलिरहने मान्छेहरु पनि घरको चौघेरा नाघेर जान डराउन थाले । चौकी आक्रमणपछि जिल्लाबाट थप जनशक्ति ल्याएर खोजतलासको नाममा वरपरका गाउँहरु पूरै आतङ्कित बनाइयो ।

कवीरकै छिमेकी दाइ थिए जब्बरमान अर्थात जब्बरे । उनी हिउँदभरी आरा काटेर पैसाको जोहो गर्थे । कहिले परदेश त कहिले नजिकैको गाउँ वा छिमेकी जिल्लासम्म पुग्थे । हट्टाकट्टा ज्यान, निडर बोली, कसैलाई थिचोमिचो नगर्ने र थिचोमिचो गर्नेलाई नि नसहने उनको बानी । हिउँदभरी आरा काट्दा उनको हत्केलामा काँध बसेका हुन्थे । हातका औँलाहरुको जोर्नीहरु खुइलिएका हुन्थे । काम गर्दा गर्मी हुने भएकाले कपडा नलगाई काम गर्दा उनको शरीर घामले डढेर कालो भएको हुन्थ्यो । कवीरकी आमाले उनै जब्बरेको जहानलाई नातिनीहरु जिम्मा लगाएर बुहारीलाई मारेको ठाउँ हेर्न जाने भइन् ।

गाउँभन्दा आधा घण्टा टाढाको जङ्गलको बीचमा भएको सानो चउर । कवीरकी आमा पुग्दा बुटहरुले छोडेका निसानहरुलाई रातभरिको शीतले छोप्ने निरर्थक प्रयास गरेझैँ देखिन्थ्यो । कतैकतै दुबो खुइलिएको चउरभन्दा अलि परको झाडीमा अलिकति खाडल खनेजस्तो गरेर बुहारीको लासलाई छोपछाप पारिएको थियो । उनका च्यातिएका लुगाका टुक्राहरु र दुवै खुट्टाका चप्पलहरु चउरको दायाँ बायाँ छरिएर उनको नियतिको बयान गरिरहेझै देखिन्थे । आफ्नै छोरीले भन्दा धेरै माया गर्ने बुहारीको यो हालत देख्दा कवीरकी आमाको छाती चर्कियो । आँखा तिर्मिराए । छोराबुहारीको यस्तो हालत भएपछि योभन्दा ठूलो पीर त के हुन्थ्यो र उनलाई ? तर पनि आशाको त्यान्द्रो आफ्नी नातिनीहरु, उनीहरुको रेखदेख गर्ने जिम्मा उनकै थियो अब । त्यही जिम्मेवारीले उनी ब्युँझइन् र लर्खराएका खुट्टाहरुलाई थाम्न कम्मरमा भिरिराखेको खुर्पाले चउरनिरको पैनेठीको लट्ठी कटिन् र टेक्दै घर फिरिन् ।

बुहारीको लासलाई निकालेर आफ्नो संस्कार अनुसार सद्गत गर्न चाहन्थिन् कवीरकी आमा । तर एक्लै त्यो सम्भव थिएन । पुलिसले गाउँलेहरु कसैले पनि त्यो लासलाई यताउता नगर्न उर्दी गरिसकेका थिए । त्यसैले कसैले पनि सघाउने आँट गर्न सकेनन् । अलि पछितिर गाउँलेहरु घाँस दाउरा गर्न जाँदा स्यालहरुले लास निकालेर खाएको, यत्रतत्र दुर्गन्ध फैलिएको आदि कुरा सुनाउँथे ।

खेतीको सिजन सुरु हुनै लाग्दा जब्बरे घर फर्किए । कवीरको घरको खबरले उनी विछिप्त भए । कवीरकी आमा होस उडेजस्तै भएकी थिइन् । छोरीहरु मान्छे देख्दा तर्सिएर लुक्न थालेका थिए । आफ्नै छोरीजस्तै गरी जब्बरेलाई देख्ने बित्तिकै काखमा लुट्पुटिन आउने कवीरकी छोरी आफ्नी बजुको पछ्यौरीले अनुहार छोप्दै बजुकै पछाडिपट्टि लुकेको देख्दा जब्बरे भक्कानिए । आफ्नो एउटा छोरो मात्रै भएकाले ज्यादै प्यारो गर्थे कवीरकी छोरीलाई । अस्ति आरा काट्न जानु अघिल्लो दिन न्वारन गरिएकी कवीरकी कान्छी छोरीको ओँठ मुख सुकिसकेको थियो । सायद रोएर थाकेकी थिइन्, रोएको आवाज पनि दबिएर बाहिरिइरहेको थियो । जब्बरेले साथमा कवीरकी छोरीलाई मन पर्ने पशुपति बिस्कुट लिएर आएका थिए । उनले छोरीलाई देखाएर फकाए, बल्ल डराउँदै बजुको ढाँडमा एक हातले समातेर अर्काे हातले बिस्कुट समाइन् । आमाले जाँड छानिन् । जब्बरेले आमालाई सम्झाए । कवीर उमेरले सानो भए पनि जब्बरेको भरोसा थिए । धेरैले उनलाई बुझज्की भन्थे, मान्थे । इमानदार थिए, उनले सबैलाई सम्झाउन सक्थे, गाउँकाहरुले विश्वास गर्थे । ‘देमा, पीर नगर्नु अब । उसलाई केही भएको छैन होला । नभए त यत्रो दिनसम्म केही खबर आउँथ्यो । म भोलिदेखि खोजतलास गर्छु । नडराउनु, जेजति भयो सबै भइसक्यो । योभन्दा हुने ठाउँ छैन । तपाईंको एउटा छोरा हराए पनि अर्काे छोरा छ भनेर सम्झिनु । मन दरो बनाउनू ।’ जब्बरेले सम्झाए । ‘त्यो राक्षेसहरुले काहाँ लगेर के गरे होला क्या ! दया माया कही छैना तिनेरको । यिनेरको आमालाई पशुभन्दा नि पल्लैछारी पारे अरे सुनेउ कि सुनेनौ ?’ ठूली नातिनी बिस्कुटमा भुलिएकी थिइन्, सानीलाई गाईको दूध चम्चाले खुवाउँदै बोलिन् । जाँड खाइसकेर जब्बरे बिदा भए ।

रातभरी निन्द्रा लागेन जब्बरेलाई । भोलिपल्ट चौकी जाँदै थिए । बीच बाटोमै पुलिस चेकिङ रहेछ । चेकिङ सुरु भएको दुई महिनासम्म नदेखेको मान्छे देखेपछि पुलिसहरुले केरकार गर्न थाले । जब्बरेको हातमा पुलिसको आँखा पर्यो । ‘कहाँ तालिम लिएर आइस् ? कोको तेरा साथी छन् यहाँ ?’ भन्दै कपडा खोल्न लगायो । उनले प्रतिवाद गर्न नपाउँदै पाता कसेर हिर्काउन थाले ।

‘म त आरा काटेर पेट पाल्ने मान्छे, कस्तो तालिम कहाँ लिनु हजुर ? भर्खर हिजो घर आएको ।’

‘तिमारको यस्ता कहानी हामीलाई थाहा हुन्न भन्ठान्छस् साला । तँ जस्तो तालिमले खाँदिएको ज्यान भएको मान्छे आरा काट्छस भन्दा पत्याइदिनुपर्ने ? अब बस्छस आरा काटेर ।

पुलिसले उनलाई पनि लिएर गयो । गाउँमा हल्ला फैलियो । तर जब्बरेलाई सोधखोज गर्न पुलिस चौकीसम्म जाने हिम्मत कसैले गर्न सकेनन् । परिवार र कवीरकी आमालाई अर्काे बज्रपात थपियो । चार दिनपछि जब्बरे घर फर्किए तर ज्यान पनि थाम्न नसक्ने भएर ।

उनलाई शारीरिक यातनाको कुनै कसर बाँकी राखिएन । तर कुनै सीप नलागे पछि उनी आरा काट्ने मान्छे नै भएको निक्र्याैलमा पुगेका थिए पुलिसहरु ।

जब्बरेलाई तङ्ग्रिन लामो समय लाग्यो । भनिन्छ ‘बाख्राले खाएको बाली र पुलिसले चुटेको ज्यान पहिलेकै अवस्थामा फर्किन सक्दैन ।’ जब्बरेलाई नि त्यस्तै भयो । पहिलाको जस्तो गाह्रो साह्रो काम गर्न मुस्किल हुन थाल्यो ।

उता कवीरकी आमा र छोरीहरु सामान्य हुन लाग्दैथिए । कवीरको कुनै अत्तोपत्तो थिएन । तर आमाको एक मनले भने छोरो जिउँदै छ भन्थ्यो । ठूली नातिनी नजिकैको स्कुल जान्थिन् । सानी नातिनी गाईको दूध र लिटोको भरमा हुर्काउँदैथिइन् । एकदिन जब्बरेको नाममा हुलाकबाट एउटा चिठी आयो कवीरको ।

उता कवीरकी आमा र छोरीहरु सामान्य हुन लाग्दैथिए । कवीरको कुनै अत्तोपत्तो थिएन । तर आमाको एक मनले भने छोरो जिउँदै छ भन्थ्यो । ठूली नातिनी नजिकैको स्कुल जान्थिन् । सानी नातिनी गाईको दूध र लिटोको भरमा हुर्काउँदैथिइन् । एकदिन जब्बरेको नाममा हुलाकबाट एउटा चिठी आयो कवीरको ।

चिठीका अनुसार कवीरले सबै कुरा थाहा पाएका रहेछन् । आफ्नी श्रीमती, परिवार अनि जब्बरेको कुरा पनि । उनका अनुसार चौकी आक्रमण गरेपछि आत्मसमर्पण गरेका पुलिसहरुमध्ये घाइतेलाई त्यही छोडेर हिँड्न सक्ने जतिलाई लिएर गएका थिए । कैदीहरुलाई समेत त्यहाँबाट भगाएका थिए । रातारात हिँडेर उनीहरु अर्काे जिल्लाको सिमानामा पर्ने ठूलो जङ्गलमा पुगे । जहाँ विद्रोहीहरुको सुरक्षित आश्रयस्थल थियो । आराम गर्दै यातनाले थिलथिलो भएको कवीरको शरीरमा उनीहरुसँग भएको प्राथमिक उपचार सामग्रीले उपचार गरे । उनीहरुले भन्दैथिए, त्यो आक्रमणको योजना महिनादिन अघिको थियो । त्यो चौकी हटाएर आधार इलाका बनाउने योजनामा आक्रमण गरिएकोमा उल्टै थप सुरक्षा फौज थपिएपछि समस्या उस्तै भयो । अपहरण गरिएका प्रहरीहरुलाई भने पक्राउ परेका माथिल्लो तहका नेताहरुको रिहाइका लागि सौदाबाजी गरियो ।

कवीरसँग कुनै विकल्प थिएन विद्रोहीहरुसँग पछि पछि हिँड्नुबाहेक । घर जाऊँ आफूलाई अनाहकमा लागेको आतङ्ककारीको बिल्ला छ, नजाऊँ छोरा बुहारी लुटिएकी आमा र बाबु आमाको काख खोसिएका दुई अबोध छोरीहरुको आँसु र नियती झल्झली सम्झिरहने । केही दिनपछिको एक साँझ जे पर्छ सहौँला, आमा र छोरीहरुलाई भेट्छु भन्ने अठोटले गाउँसम्म पुगे । तर परैबाट पुलिसहरुको गस्ती गाउँमा पसेको कुरा थाहा पाए । गाउँ छिर्ने आँट गर्न सकेनन् । पहिलो पटक उनी आफ्नै गाउँसँग यति धेरै भयभित भए । त्यसपछि उनले अठोट गरे, ‘मैले यति चाँडै मर्न हुन्न, यो हालतमा पुर्याउनेहरुलाई नाङ्गेझार बनाउनुपर्छ ।’

उनी फेरि त्यही समूहमा पुगे र उनीहरुसँगै मिसिए । गाउँ जाने बेलामा उनलाई सम्झाएका थिए, ‘एकपटक राम्ररी सोच, तिम्रो परिवार तहसनहस भएको छ । बिनाकसुर तिमीलाई आतङ्ककारी भनिएको छ । तिमी जिउँदो छौ । तिम्रो बाँकी जिन्दगिलाई अर्थपूर्ण बनाउनुपर्छ । गाउँमा तिमीलाई पुलिसले खोजिरहेको छ । जे सोचेका छौ, त्यस्तो स्थिति छैन । बरु क्रान्तिको फराकिलो बाटोमा सामेल होऔँ । उत्पीडन र वर्गीय विभेदको सिकार भएका हामी सबैको मुक्तिको बाटो यहीँ हो ।’ उनी चुपचाप हिँडेका थिए । तर अब भने उनी त्यही क्रान्तिको फराकिलो बाटोमा विकल्पविहीन बनेर समाहित हुन पुगेका थिए ।

त्यो समय माओवादी विद्रोहले ग्रामीण इलाकाहरु कब्जा गरिसकेको दाबी गर्दैथियो भने सरकारको पक्षबाट युद्ध लडिरहेको प्रहरी र सेनाहरु निश्चित घेराभित्र सीमित हुँदै गइरहेका थिए । कवीरले बन्दुक उठाए । सैन्य तालिम र परेड सिके, युद्धको भाषा र क्रुरतालाई नजिकबाट देखे । आफ्नो घरमा कुखुरा मार्नसमेत असहज मान्ने कवीरमा अब आफू जस्तै मान्छेलाई ताकी ताकी गोली हान्न सक्ने हिम्मत आइसकेको थियो । हरेक गोलीसँगै उनी आफ्नो आक्रोश मिसाउँथे, पुलिसले दिएको अनाहकको यातना, त्योभन्दा कैयौँ गुणा बढी आफ्नी श्रीमतीलाई दिइएको मृत्यु सम्झन्थे र सारा आक्रोश आफ्नो अगाडिको निसानामा लगाउँथे । एक्लै बसेको बेला आफूलाई सम्झेर उनी आफै अचम्म पर्थे । जबर्जस्ती उनलाई त्यो निर्दयताको शिखरमा पुर्‍याइएको थियो, जहाँबाट उनी अब फर्किएर कहिल्यै आफ्नो पुराना दिनमा पुग्न सक्दैनन् ।

कवीरले घर छोडेको पाँच महिनापछि आएको चिठीमा आफ्ना छोरीहरु र आमाको ख्याल गर्ने जिम्मेवारी जब्बरेलाई दिएका थिए । उनले लेखेका थिए ‘दाइ, तिमी हिम्मतिलो छौ । त्यहीँ हिम्मतले काम गर । मेरो छोरीहरुलाई उनीहरुको बाउ आमाको अभाव हुन नदेऊ । आमालाई मेरो कुरा बुझाइदेऊ । यदि मरेँ भने कुनै दिन खबर आइपुग्नेछ । खबर नआएसम्म सम्झिनु म जिउँदो छु । उनले चिठी पठाउने ठेगाना लेखेका थिएनन् ।

समय आफ्नै रीतमा चलिरह्यो । जब्बरेको सिकुवाको मुल खाँबोमा दर्जीले सिलाएको खोल ओडेर पानासोनिक रेडियोले समाचार भनिरह्यो । विद्रोहीहरु मरेको खबर । सरकारी सेनाहरु मारिएको खबर । पुलिस चौकी र सदरमुकामहरु कब्जा गरिएको खबर । विद्रोहीहरुको आधार इलाका तोडिएको खबर आदि । कवीरको छोरीहरुमध्ये ठूलीले चाहिँ बाबुआमालाई आक्कल झुक्कल याद गर्थिन् तर कान्छीलाई भने कुनै याद नै थिएन । उनका लागि भने बजु र दिदी नै आफ्नो सिङ्गो परिवार थिए । जब्बरे र परिवारले कवीरकी आमालाई खेतीपाती लगाउने, उठाउने लगायतको काममा खेतालो जुटाउने तथा खेताला धान्न सघाइरहे । नातिनीहरुलाई हेरेर आफ्नो पीर मनमा लुकाइरहने आमा हरेक बेलुकी नातिनीहरु निदाएपछि धित मरुन्जेल रुन्थिन् । बुहारी त नफर्किने बाटोमा गइन् तर छोरा भने कुनै दिन फर्केला कि भन्ने आशा बँचाएर राखिरहिन् ।

एउटा असारे साँझ, गाउँ दिनभरिको खेतीपातीबाट थाकेर बिस्तारै सुस्ताइरहेको थियो । सेना, पुलिसको गस्ती अनि विद्रोहीहरुको लुकामारीमा अभ्यस्त भइसकेको गाउँ बेलुकी अबेलासम्म गर्मी हम्किँदै आँगन, सिकुवा र पिँढीहरुमा गफिन थालेको थियो । डराई डराई भए पनि आफू खुलेर जिउन सिक्दै थियो । साँझ छिप्पिएसँगै शीतलको साहस बढ्न थाल्यो । गाउँका घरहरुमा मूलढोकाहरु बिस्तारै बन्द हुन थाले । मान्छेहरु निन्द्रामा लुट्पुटिन थाले । बाहिर भने कुकुरहरुको साम्राज्य सुरु भयो । नातिनीहरुलाई दायाँबायाँ च्यापेर निदाउने कोसिस गरिरहेकी कवीरकी आमा भने आँखाका ढकनीहरु बन्द भए पनि निदाएकी थिइनन् । समयको धर्काे जति लामो हुँदै जान्छ मनको दुखाइ त्यति नै कम हुनुपर्ने हो । तर सायद आमाको हृदय भएर होला उनको चिरिएको मुटु अझै उतिकै आलो थियो, जति पाँच वर्षअघि थियो । नातिनीहरुको मुहारमा देखिने अबोधतामा आफूलाई नि हराइदिन खोज्छिन् तर उनीहरुबाट नजर हटेपछि चैतमा डढेलोले खाएको बन जस्तै हुन्छिन् ।

कवीरकी आमा झकाउँदै थिइन् । अचानक ठूलो आवाजमा रातको सन्नाटा चिर्नेगरी पटट.. आवाज आयो । कान अलि चनाखो बनाइन् । ड्याम्म, ड्याम्म थपियो । ओच्छ्यानबाट उठेर सुनिन् । आवाज गाउँको थाप्लोमा भएको ठूलो जङ्गल चिरेर गएको मूलबाटोतिरबाट आइरहेथ्यो । सदरमुकामदेखि सहरसम्म जोड्ने मूलबाटो त्यही हो । जङ्गलै जङ्गलले ढाकेको त्यो ठाउँमा एक दुई जना त दिउँसै हिँड्न नि डरलाग्दो छ । कवीरकी आमाले खासै लख काट्न सकिनन् । आवाज बन्दुकको थियो वा अरू केही ।

पूर्वका माओवादीहरु पश्चिम र पश्चिमको माओवादीहरु पूर्व साटिएर काम गरिसकेपछि कवीरहरु पूर्वको आधार इलाका पुग्न लागेका थिए । गाउँमाथिको जङ्गलै जङ्गल हिँडेर अर्काे जिल्लासम्म पुग्नु थियो । उनीहरुको ठूलो समूह भएकाले बाँडिएर हिँडिहेका उनीहरु जिल्लाबाट निस्किएको शाही सेनाको ट्र्यापमा परे । कवीरहरु त्यो बाटो आउँदै गरेको सूचना सेनाहरुको गुप्तचरसम्म पुगेपछि उनीहरुको खोजी सुरु भएको थियो । केही समूह सेनाको आर्क तोडेर भाग्न सफल भए तर कवीरको समूह भने सेनाले बनाएको सी आर्कमा फँस्यो । डिफेन्स पोजिसन बनाउन नपाउँदै धेरै जना गोलीको निसानामा परे । कवीरले आफ्नो बन्दुक फायरिङ पोजिसनमा राख्नै लाग्दा चुइँइँइँय गर्दै आएको गोली उनीनिर आएर चुपचाप भयो । थाहा पाएनन् कति गोली कहाँ छिर्‍यो । उनले अन्धाधुन्ध फायर खोले । पछाडि फर्किएर दौडन खोज्दा दायाँ खुट्टा उचालिएन । उनी त्यही थचारिए । भिरको टुप्पामा रहेछन् । थचारिँदा त्यहाँबाट पल्टिएर भिरतिर झरे । झाडीले भरिएको भिर भएकाले उनी सीधै तल झर्न पाएनन् । अड्किन्थे, अलिकति बल लगाएर कतै समात्न खोज्दा फेरि अर्काे बल्ड्याङ्ग झर्थे । उनलाई थाहा भयो उनको तिघ्रा र कम्मरको बीचमा गोलि लागेको छ । तर बाहिर निस्किएको छैन । अड्किँदै झर्दै गर्दा सोहोरिएर, कोपरिएर दर्खरिँदै उनी निक्कै अग्लो भिरको पिँधमा पुगे । उनले लगाएको लुगा च्यातिएर धुजाधुजा भएको थियो । ज्यान थिलोथिलो भएर दुख्न र चोट लाग्न बाँकी ठाउँ कतै नभएझैँ लाग्दै थियो । पानी खाने टुम्लेटमा आधा बाँकी भएको पानी भने बिर्काे नफुक्लिएकाले बँचेको रहेछ । त्यही पानी खाए । खुट्टा घिसार्न खोजे तर चलाउनै सकेनन् । अन्धकार रातमा उनको आँखामा समेत तिरिमिरी छायो । सकेसम्म आफू होस नगुमाउने ध्याउन्नमा लागे ।

भिरको खोँच, अलिकति पर पानी बगेको बाहेक अरू आवाज थिएन । अन्धकार रातमा उनी कहाँ पुगे भेउ पाउन सकेनन् । दुखाइको पारो चढिरहेको थियो । उनले एकफेर आजसम्म बाँचेको जिन्दगीलाई ‘रिवाइन्ड’ गरेर हेरे । आफ्नी प्राणप्रिय श्रीमती, फूल जस्ती छोरीहरु, घरको धुरी जस्तै अडिग आमा अनि आफ्नो दुखजिलो गरेर बाँचिरहेको एउटा मध्यम जिन्दगी । कसैको एउटा सानो सनकले कसरी तहस नहस हुने रहेछ । सम्झँदा सम्झँदै भाउन्न छुट्ला जस्तो भयो । निक्कैबेर स्मृतिहरु ओहोरदोहोर गरिसकेपछि पर कतै भाले बासेको मधुरो आवाज आउन थाल्यो । तर आफ्नो शरीरलाई एक इन्च पनि सार्न सकेनन् ।

क्रमशः रातको आयु सकियो । मिर्मिरे हुँदै बिहान भयो । घामका कलिला किरणहरु बिस्तारै ठूला रुखहरुको बीचबाट देखिन थाल्यो । त्यसपछि कवीरले ठम्याए, उनी त आफ्नै गाउँको पाटामा पर्ने जङ्गलको खोँचमा रहेछन् । नजिकै निक्कै टाढाबाट बगेर आएको खोला बजिरहेको थियो । त्यही खोला निक्कै तल पुगेपछि कवीरहरुको गाउँतिर पाइपबाट खानेपानीको रूपमा गाउँभरी छरिन्छ । भोक, तिर्खा, थकान, दुखाइ सबै चिज एकै पटक मिसिएपछि उनलाई थाहै भएन भोक लागेको हो वा तिर्खा वा निन्द्रा वा दुखाइ कुन बढी छ । नजिकै बगिरहेको पानी भएतिर उठेर जान खोजे । उठ्नु त के उनले जिउसमेत भित्ताबाट उठाएर सोझ्याउन सकेनन् । जिन्दगिमा पहिलो पल्ट उनलाई हरेश लाग्यो, आफ्नै जिवनप्रती दया लाग्यो, बाँच्ने लोभ जागेर आयो । किनकि त्यो ठाउँमा कोही मान्छे आइपुग्ने कुनै सम्भावना थिएन, न त उनी आफै हिँडेर कतै जान नै सक्थे ।

दिउँसोसम्ममा उनको शरीरको सम्पूर्ण तागत सकिएझैँ भइसकेको थियो । घाउबाट रगत बग्न कम भए पनि अलिकति छट्पटाउना साथ रगत बग्थ्यो । असारको मध्यबर्खा, जङ्गली झिँगाहरु आलो रगतको गन्धमा लट्ठिएर त्यही झुम्मिन आइपुग्थे । तिनलाई धपाउने तागतसमेत रहेन कवीरको । दिउँसो घाम चर्कियो । हाँगा, पात र बडेमानका रुख छल्दै थोप्लाथाप्ली घामले कवीरलाई हेरिरह्यो । आफूलाई कसैले वा केहीले त हेरिरहेको छ भन्ने सोचेर उनी अलिकती ढुक्क हुन्थे ।

साँझ पर्न लाग्दै गर्दा उनी भोकले रन्थनिए । अघिल्लो बिहान काँचो चाउचाउको भरमा आधार इलाका पुग्न हिँडेका उनको पेट दुई दिन अघिदेखि अन्नविहीन थियो । उनले आफ्नो हातले लुछ्न सक्ने हरियो पात भएका झार र रुखका पातहरु सुर्काएर चपाए । कुनैबाट टरो, कुनैबाट तितो त कुनैबाट स्वादविहीन पानी आयो ।

साँझ पर्न लाग्दै गर्दा उनी भोकले रन्थनिए । अघिल्लो बिहान काँचो चाउचाउको भरमा आधार इलाका पुग्न हिँडेका उनको पेट दुई दिन अघिदेखि अन्नविहीन थियो । उनले आफ्नो हातले लुछ्न सक्ने हरियो पात भएका झार र रुखका पातहरु सुर्काएर चपाए । कुनैबाट टरो, कुनैबाट तितो त कुनैबाट स्वादविहीन पानी आयो । अलिकति त्राण आएझैँ भयो । यद्यपि उनले आफूलाई पूरै माया मारिसकेका थिए । त्यहाँबाट उम्कने कुनै उपाय उनले देखेका थिएनन् । साँझ पर्‍यो, झ्याउँकिरीको आवाज कानमा बिस्तारै ठोक्किन थाल्यो । परपर कुकुरहरु कराइरहेको सुन्दैथे । त्यतिकैमा जङ्गल नै थर्किने गरी पानी पर्न थाल्यो । केही समय त रुखका पातहरुले बर्सातको थोपा छेक्न सघाए तर केही क्षणपछि तिनै पातहरुले ठूला ठूला थोपा खसाल्न थाले । आफ्नो शरीर क्रमशः चिसिँदै गएको महसुस हुन थाल्यो उनलाई ।

जब्बरेकी श्रीमती र गाउँको एक जना साथी सुँगुरलाई चारो खोज्न जङ्गल गएका थिए । भारी पुग्नै लाग्दा उनीहरु खोल्सा छेउछाउ माने (जङ्गली पिँडालु) को पात भेटिन्छ कि भन्ने आशाले अलि माथिको खोला नजिक पुगे । खोला किनारनिर एउटा अचल मान्छे देखे । मरेको कि जिउँदै भन्दै दुवै जना एकछिन गलफत्तिए । जब्बरेकी श्रीमती आँट गरेर नजिक पुगिर हेरिन् । सुकिसकेको रगतपच्छे घाउले भरिएको जिउ, खुट्टाको छेउमा जमेको रगत अनि कम्मरनिर जङ्गली झिँगाहरुको गोलो लागेको ज्यान कवीरको थियो । उनी खोँचमा फँसेको दुई दिनपछि उनलाई भेटेका उनीहरु दुवै जना आत्तिए । के गर्ने के नगर्ने भएर हेराहेर गरे । मान्छे चिसिइसकेको भए पनि नाडी र छाती छाम्दा जिउँदो भएको थाहा पाए । मानेको पात टिपेर खोलाबाट पानी ल्याएर छम्किदिए अनुहार र शरीरमा । घाउहरुमा लागेको माटो पुछिदिए, पखालिदिए । यो कसरी भयो, उनीहरुलाई कुनै अनुमान थिएन । पानी छम्किएर पनि कवीरको आँखासमेत खुलेन । जब्बरेकी श्रीमतीले पर्खिने र साथीले गाउँमा गएर जब्बरेलाई सुनाउने सल्लाह भयो ।

जब्बरे सबै कुरा थाहा पाएपछि खङ्ग्रङ भए । ‘कसैलाई नसुनाउनु म आफै सबै कुरा बन्दोबस्त गर्छु । खबर ल्याउनेलाई यति भनेर उनी घरबाट निस्किए । उनले चार जना विश्वासिलो लाठेहरुलाई लिएर एउटा टाउजर, भेस्ट, कम्बल र छिप्पिएको छरितो बाँस बोकेर जङ्गलतिर लागे ।

ठाउँ खोज्दै जब्बरेहरु खोला किनारमा पुग्दा उनकी श्रीमतीले कवीरलाई सजिलो गरी भुइँमा सुताएकी थिइन् । जब्बरेले छाती छामे, नाडी छामे, नाकमा हात राखे । केही आशा पलायो । उनीहरुले कवीरको लुगा फेरिदिए । गोली लागेको ठाउँबाट रगत बग्न खोज्दैथियो, एक जनाले आफ्नो सर्टको बाहुला च्यातेर बाँधिदिए । बाँस र कम्बलको अस्थायी स्ट्रेचर बनाए, र त्यसैमा कवीरलाई राखेर जङ्गलबाट बिस्तारै बाहिर निकाले । कवीर माओवादी हो, सबैलाई थाहा थियो । अघिल्लो रातको भिडन्तपछि एक घण्टा टाढा उनीहरुको गाउँमा गस्ती आएको थियो तर खासै वितन्डा गरेन । मूलबाटोबाट जान सक्ने अवस्था थिएन । त्यसैले उनीहरु गाउँको पुछारमा भेटिने खोलाको दोभानबाट किनारै किनार हिँडेर मूलबाटोमा पुग्ने सल्लाह गरे । त्यो मूलबाटो सेनाहरु बसेको ठाउँभन्दा तीन घण्टा टाढा पर्छ । जब्बरेले श्रीमतीलाई अलिकति पैसा र बन्दोबस्तका केही सामान लिएर अलि तलको चौतारोमा बोलाए ।

कवीरलाई लिएर रातभर हिँडिरहे बगरैबगर । बिहान हुनै लाग्दा मूलबाटोमा पुगे । मूलबाटो पच्छ्याएको चार घण्टापछि गाडी लाग्ने ठाउँमा पुगे । जब्बरेले सहर झर्दा नजिकबाट चिनेको एक जना क्लिनिक सञ्चालक थिए । त्यहीँ पुगे उनीहरु । क्लिनिकवालाले एक जना डाक्टरसँग चिनाइदिए । ती डाक्टर भूमिगत रुपमा माओवादीका घाइतेहरुलाई उपचार गर्थे । उनैले यता र उता गर्दै मिलाइरहँदा तीन दिन बित्यो । क्लिनिकमा सामान्य ड्रेसिङ र स्लाइनबाहेक अरु भएन । बल्ल ती डाक्टरको सम्पर्कबाट कवीर अस्पतालको बेडमा पुगे । गोली लागेको ठाउँ कुहिन थालिसकेको थियो । रगत धेरै बगेको तथा कैयौँ दिनदेखि भोकै भएकाले शरीर शिथिल थियो ।

अपरेसन गरेर गोली निकालियो । तर अस्पतालमा जुनसुकै बेला सेनाले छापा मार्न सक्ने भएकाले खतरा उत्तिकै थियो । त्यसैले डाक्टर आफैले गोप्य रूपमा कवीरको ख्याल गरेर उपचार गराए । बोकेर जानेमध्येका एक जनाले कवीरकी आमालाई गाउँ पुगेर लिएर आए । आमा आएको भोलिपल्ट मात्रै कवीरको होस आएको थियो ।

बाबा खाना पाक्यो, आउनुस । कान्छी छोरीको आवाजले कवीरलाई झल्याँस्स ब्युँझायो । भर्खरै सकिएको स्थानीय निर्वाचनको परिणाम टिभीमा आउँदै थियो । उनको गाउँको परिणाम भर्खरै घोषणा भयो । निर्वाचित अध्यक्ष उनै भूपू अध्यक्षका छोरा थिए ।

जब्बरे दाइको सहयोग र आमाले जोरजाम गरेको पैसाले कवीरको उपचार टर्‍यो । पार्टीको सम्पर्कमा पुगे पनि उनलाई पार्टीमा लामो समय बिना जानकारी गायब भएको भनेर खास जिम्मेवारी दिइएन । आफू जिउँदो भएको भन्दा पनि पार्टीमा जानकारीविहीन हुनु मुख्य अपराध मानिएपछि पार्टीमा काम गरिरहन मन भएन । उनलाई गाउँ जान खतरा थियो ।

जब्बरे दाइको सहयोग र आमाले जोरजाम गरेको पैसाले कवीरको उपचार टर्‍यो । पार्टीको सम्पर्कमा पुगे पनि उनलाई पार्टीमा लामो समय बिना जानकारी गायब भएको भनेर खास जिम्मेवारी दिइएन । आफू जिउँदो भएको भन्दा पनि पार्टीमा जानकारीविहीन हुनु मुख्य अपराध मानिएपछि पार्टीमा काम गरिरहन मन भएन । उनलाई गाउँ जान खतरा थियो । दुखजिलो गरेर यही सहरमा बस्छु भनेर अडान कसे । जब्बरे दाइलसँग सल्लाह मागे । कवीरसँग गाउँ बस्दाको सिकर्मी सीप थियो । सहरको एउटा फर्निचर कारखानामा काम गर्न थाले ।

युद्ध सकिएपछि पुराना प्रतिक्रान्तिकारीहरु धमाधम खुङ्खार क्रान्तिकारी हुँदैथिए । सहर पलायन भएको अध्यक्ष परिवार गाउँ फर्किएर निक्खुट क्रान्तिकारी भइसकेको थियो । त्यतिबेला कवीर भने सहरमा आफ्ना साना छोरीहरु र बूढी आमासहितको परिवारका लागि मजदुरी गर्दैथिए । गाउँको खेतबारी अरूलाई अधियाँमा कमाउन लगाएका थिए । आमा र छोरीहरु गाउँ निस्कन्छन बेला बेलामा । तर कवीर कहिल्यै गाउँ फर्कन चाहेनन् । फर्निचरको काम छोडेर ट्याम्पो चलाउन सिके । केही वर्ष साहूको चलाएपछि अहिले बैङ्कबाट ऋण गरेर आफैँले ट्याम्पो किनेका छन् । जेठी छोरीले डिप्लोमाको पढाइ सकेर स्थायी शिक्षकको जागिर गर्दैछिन् । कान्छी छोरी प्लस टु पढ्दैछिन् । अब कवीरको एउटै सपना छ, आफ्नी आमालाई यही सहरको एउटा कुनामा सानो भए पनि आफ्नै स्वामित्वको घरमा राख्ने ।

हतुवागढी–२, लुङ्गिन भोजपुर । हाल : दक्षिण कोरिया

प्रतिक्रिया